मदन पुरस्कार पुस्तकालय (मपुपु)को रेफरेन्स सेवा स्थगित गरिएको सूचना


गत वैशाख १२ गते आएको भुकम्पबाट यस मदन पुरस्कार पुस्तकालयको भवन क्षतिग्रस्त भएको र प्राविधिकहरूको सल्लाह बमोजिम मानवीय तथा भौतिक जोखिम कम गर्नका लागि उक्त स्थानमा रहेका सामग्रीहरू तुरून्त सार्नुपर्ने तथा उक्त भवन भत्काउनु पर्ने भएकोले यस मदन पुरस्कार पुस्तकालयका सबै खालका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको दु:खद जानकारी गराउँछौं।

पुस्तकालयका प्रमुख अमर गुरूङले भने, “इतिहासमा पहिलो पटक यसरी सेवा बन्द गर्न परेकोमा हामी अत्यन्तै दुःखी छौं। अन्य स्थानबाट सक्दो छिटो सेवा सुचारू गर्न मपुपु परिवार कटिबद्ध छ”।

नेपाली भाषाको सबैभन्दा ठूलो अभिलेखालय मानिएको पुस्तकालय मपुपु २०१३ सालमा स्थापित भएको थियो। यस गैर-नाफामुलक संस्था मदन पुरस्कार पुस्तकालय (मपुपु)ले करिब ५,५०० फरक-फरक शिर्षकका पत्रपत्रिका ३५,००० पुस्तक, ५०,००० तस्बीर, तथा १५,००० ‘इफिमेरा’ (पर्चा, पम्पलेट्, पोस्टर आदि) र १०,००० हस्तलिखित सामग्री तथा अडियो-भिडियो सामग्रीहरू सङ्कलन, सङ्ग्रहण र संरक्षण गरिरहेको छ।

पुस्तकालयले नेपाली भाषामा लेखिएको तथा छापिएको सबैभन्दा पुराना पुस्तकहरू लगायत जङ्गबहादुरको मुलुकी ऐन, विसं १९५८ मा प्रकाशित पहिलो अङ्कदेखिका गोरखापत्र, हस्तलिखित सामग्री, राणाकालिन फोटो तथा ऐतिहासिक पर्चा-पम्पलेटजस्ता सामग्रीहरू सङ्कलन तथा संरक्षण गरेको छ।

थप जानकारीका लागि शमिक मिश्र (कार्यकारी निर्देशक, मपुपु, ९८४१३६१८७१) तथा प्रविण पौडेल (प्रबन्ध निर्देशक, ९८५११२६४५४) सँग सम्पर्क राख्नुहोला।